Asalmitra Khabar

के तपाईको पनि पिसाब रोक्ने बानी छ ? होशियार यो एकदम घातक हुन सक्छ

तनुहँ — व्यस्त जीवनशैली, कामको चाप, यात्रा तथा सार्वजनिक शौचालयको अभावका कारण धेरै मानिसहरू समयमै पिसाब फेर्न नजाँदा त्यसलाई लामो समयसम्म रोक्ने बानी बसालिरहेका छन्। तर चिकित्सकहरूका अनुसार पिसाब रोक्ने यो सामान्य देखिने बानीले शरीरमा दीर्घकालीन र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

मानव शरीरमा मिर्गौलाले रगतबाट फोहोर पदार्थ छानेर पिसाब बनाउँछ। उक्त पिसाब मूत्राशयमा जम्मा भएपछि स्नायु प्रणालीमार्फत पिसाब फेर्न संकेत प्राप्त हुन्छ। तर यो संकेतलाई बारम्बार बेवास्ता गरिँदा मूत्र प्रणालीमा नकारात्मक असर पर्न थाल्छ।

मूत्रनली संक्रमणको जोखिम

पिसाब लामो समयसम्म मूत्राशयमा जम्मा भएर बस्दा त्यहाँ ब्याक्टेरिया बढ्ने सम्भावना उच्च हुन्छ। यसका कारण मूत्रनली संक्रमण ९यूटीआई० हुने जोखिम बढ्छ। यूटीआई हुँदा पिसाब पोल्ने, बारम्बार पिसाब लाग्ने, पिसाबमा दुर्गन्ध आउने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन सक्छन्।

मूत्राशय कमजोर बन्ने खतरा

स्वास्थ्य विशेषज्ञहरूका अनुसार बारम्बार पिसाब रोक्दा मूत्राशयको मांसपेशी कमजोर हुँदै जान्छ। यसले भविष्यमा पिसाब नियन्त्रण गर्न नसक्ने समस्या उत्पन्न हुन सक्छ। विशेषगरी वृद्धवस्था तथा महिलाहरूमा यो समस्या गम्भीर रूपमा देखिन सक्ने चिकित्सकहरूको भनाइ छ।

मिर्गौला सम्बन्धी जटिलता

पिसाब रोक्ने बानी लामो समयसम्म जारी रहेमा संक्रमण मूत्राशयबाट मिर्गौलासम्म पुग्न सक्छ। यसले मिर्गौला सुन्निने, मिर्गौलाको कार्यक्षमता घट्ने तथा गम्भीर अवस्थामा मिर्गौला फेल हुने जोखिमसमेत बढाउन सक्छ।

पेट, कम्मर र मानसिक असर

पिसाब धेरै बेर रोक्दा पेटको तल्लो भाग तथा कम्मर दुख्ने समस्या देखिन सक्छ। साथै, असहजता र बेचैनीका कारण मानसिक तनावसमेत बढ्न सक्छ। यसले कामको दक्षता र दैनिक जीवनमा नकारात्मक असर पार्ने चिकित्सकहरू बताउँछन्

विशेषगरी विद्यार्थी, लामो दूरीका सवारी चालक, कार्यालयमा लामो समय बस्ने कर्मचारी, उद्योग–कलकारखानामा काम गर्ने श्रमिक तथा सार्वजनिक स्थलमा शौचालयको पहुँच कम भएका व्यक्तिहरूमा पिसाब रोक्ने समस्या बढी देखिने गरेको छ।

चिकित्सकको सुझाव

स्वास्थ्यकर्मीहरू पिसाब लागेपछि सकेसम्म चाँडो फेर्न सुझाव दिन्छन्। पर्याप्त मात्रामा पानी पिउनु, सरसफाइमा ध्यान दिनु तथा कार्यस्थल र सार्वजनिक स्थानमा शौचालयको सहज व्यवस्था हुनु आवश्यक रहेको उनीहरूको भनाइ छ।

जनचेतनाको आवश्यकता

पिसाब रोक्ने बानीलाई सामान्य लापरवाहीका रूपमा लिनु स्वास्थ्यका लागि घातक हुन सक्छ। त्यसैले यस विषयमा जनचेतना फैलाउनु र पिसाब फेर्नुलाई स्वास्थ्य अधिकारको रूपमा बुझ्नु आजको आवश्यकता भएको विज्ञहरू बताउँछन्।

स्वास्थ्य सुरक्षित राख्न साना बानी सुधार नै सबैभन्दा प्रभावकारी उपाय हो।

By सुजन सुनार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.