Asalmitra Khabar

बैंक तथा वित्तीय संस्थासम्बन्धी पछिल्लो अवस्थाबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

तनहुँ — नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कर्जा, निक्षेप र वित्तीय कारोबारको अवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक विज्ञप्ति जारी गरेको छ। पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको तरलता, कर्जा प्रवाह, ऋण असुली तथा सेवाग्राहीसँगको व्यवहारलाई लिएर केन्द्रीय बैंकले सबै पक्षलाई सचेत रहन आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएअनुसार, नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक–वित्तीय संस्थाहरूको संयुक्त प्रयासका कारण देशभर बैंक तथा वित्तीय सेवाको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। स्थानीय तहसम्म बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले सर्वसाधारणलाई निक्षेप राख्न, कर्जा लिन, विप्रेषण सेवा प्राप्त गर्न तथा सामाजिक सुरक्षा भत्तालगायतका रकम प्राप्त गर्न सहज भएको राष्ट्र बैंकको ठहर छ।

कर्जा प्रवाह र असुली बैंकको मुख्य दायित्व

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा केन्द्रीय बैंकका निर्देशनअनुसार कर्जा प्रवाह, प्रवाह गरिएको कर्जाको अनुगमन र समयमै असुली गर्नु बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख दायित्व भएको स्पष्ट पारेको छ। सर्वसाधारणबाट संकलित निक्षेप कर्जा प्रवाहमा प्रयोग गरिने भएकाले कर्जा फिर्ता नहुँदा निक्षेप फिर्तामा समस्या आउन सक्ने र यसले संस्थाको तरलतामा नकारात्मक असर पार्ने राष्ट्र बैंकको चेतावनी छ।

यसैकारण, बैंक तथा वित्तीय संस्थाहरूले कर्जा भुक्तानी नियमित रूपमा गराउन पहल गर्नुपर्ने र अनुशासित कर्जा व्यवस्थापनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ। यद्यपि, कुनै विशेष प्रतिकूल परिस्थितिका कारण कर्जा भुक्तानीमा समस्या परेमा नेपाल राष्ट्र बैंकले समय–समयमा पुनर्संरचना तथा पुनर्तालिकीकरण (Restructuring/Rescheduling) जस्ता व्यवस्था लागू गरी सहजीकरण गर्दै आएको पनि विज्ञप्तिमा स्मरण गराइएको छ।

गुनासो सुनुवाइको व्यवस्था रहेको स्पष्ट

बैंकिङ कारोबारसँग सम्बन्धित गुनासो आएमा सम्बन्धित बैंक वा वित्तीय संस्था तथा नेपाल राष्ट्र बैंकमै गुनासो सुनुवाइको व्यवस्था रहेको जनाउँदै केन्द्रीय बैंकले ग्राहकहरूलाई संयमित ढंगले आफ्ना समस्या राख्न आग्रह गरेको छ। कानुनी र संस्थागत प्रक्रियामार्फत गुनासो समाधान गर्न सकिने व्यवस्था हुँदाहुँदै अनावश्यक अवाञ्छित गतिविधिमा संलग्न नहुन राष्ट्र बैंकको अपिल छ।

अवाञ्छित गतिविधिप्रति कडा चेतावनी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध गैरकानुनी, अवाञ्छित तथा उक्साहटपूर्ण गतिविधि बढ्दै गएमा त्यसले समग्र वित्तीय प्रणाली र सेवाग्राहीलाई नै असर पार्ने जनाएको छ। वित्तीय साधनको परिचालनमा बाधा पुग्दा सर्वसाधारणको वित्तीय सेवा प्रभावित हुने भन्दै यस्ता गतिविधिप्रति गम्भीर ध्यान दिन आग्रह गरिएको छ।

साथै, बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने, डर–त्रास देखाउने वा उक्साहटपूर्ण गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने स्पष्ट सन्देश राष्ट्र बैंकले दिएको छ। वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूको मनोबल उच्च राखी सेवा प्रवाहलाई सहज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

वित्तीय स्थायित्व सबैको साझा जिम्मेवारी

नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ प्रणालीको स्थायित्व, सेवाग्राहीको हित संरक्षण र वित्तीय अनुशासन कायम राख्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ। कर्जा लिने र दिने दुवै पक्षले कानुन र सम्झौताभित्र रहेर व्यवहार गर्नुपर्ने र समस्या आएमा संवाद र संस्थागत संयन्त्रमार्फत समाधान खोज्नुपर्ने राष्ट्र बैंकको आग्रह छ।

विज्ञप्ति २०८२ पुष १ गते जारी गरिएको हो।

By सुजन सुनार

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.