
तनहुँ, असोज १२ ।
हालै देशभर परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानजस्ता मनसुनजन्य विपद्का घटनाबाट उत्पन्न क्षति तथा जनधनको हानीप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै पीडितका लागि तत्काल राहत तथा उद्धार कार्य तीव्र पार्ने निर्णय गरेको छ।

आइतबार बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले वर्षा र विपद्बाट प्रभावित नागरिकको सहयोग र पुनर्स्थापनाका लागि विभिन्न निर्णयहरू गरेको हो। बैठकले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, पीडित परिवारलाई निःशुल्क उपचार तथा तत्काल राहत सहयोग उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
बैठकका अनुसार, अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानजस्ता घटनाबाट प्रभावित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापना कार्यलाई निरन्तरता दिइनेछ। त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी प्रारम्भिक क्षतिको विवरण संकलन र जोखिम न्यूनीकरणका प्रक्रिया अघि बढाइने निर्णय पनि भएको छ।
सरकारले सडक अवरुद्ध भएका स्थानहरूमा तत्काल मर्मत र यातायात सुचारु गर्ने, साथै अत्यावश्यक सेवा — खानेपानी, बिजुली, टेलिफोन लगायतका पुनर्संचालनका कार्यहरू शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।
बैठकले आवश्यक परेमा जोखिमयुक्त क्षेत्रमा सवारी साधन सञ्चालन रोक्ने वा वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिने पनि निर्णय गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा संलग्न जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वयंसेवक, गैरसरकारी संस्था र सञ्चारकर्मीप्रति आभार व्यक्त गरिएको छ।
बैठकको निर्णय अनुसार, सबै निकायले समन्वयात्मक रूपमा काम गरी प्रभावित नागरिकलाई यथाशीघ्र राहत र सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ।
स्रोत: मनसुन प्रतिकार्य कमाण्ड पोष्ट, गृह मन्त्रालय
